Thursday, September 9, 2010

सरल भाषामा !!

विपश्यना के हो ?
  • विपश्यनाको अर्थ बुझौँ ;यस्को अर्थ राम्रोसँग नबुझिकन सही अर्थमा विपश्यी हुन सकिदैन । त्यसैले पहिले विपश्यना सम्बन्धि केहि भ्रमहरु चिर्न जरुरी छ ;
  • विपश्यना कुनै सम्मोहिनी विद्या होइन, जसबाट हामि अरुद्वारा सम्मोहित भई आफ्नो सुद्धि-बुद्धि हराउँछौँ ।
  • विपश्यना कुनै मन्त्र विधा होइन, जसले हामिलाई साँप-विच्छि वा भुत-प्रेतलाई झै मन्त्रले दवाई राख्दछ ।
  • विपश्यना कुनै अन्ध-भक्ति वा अन्ध-भावावेश होइन, जसको भाव-उन्मादमा हामिलाई उन्मुक्त बनाई राख्दछ।
  • विपश्यना कुनै भजन, किर्तन,संगीत वा नृत्य होइन, जसमा भाव -विभोर भई हामी आत्म -विस्मृत बनी रहौँ ।
  • विपश्यना कुनै ऋद्धि वा चमत्कार होइन, जसको अलौकिकतामा चमत्कृत भई हामी आश्चर्य चकित बनी रहौँ ।
  • विपश्यना शब्द रुपि इन्द्रजालको कुनै माया होइन, जसमा कसैको वाणीविलासवाट हामी वुद्धिविलास गर्दै रहौँ ।
  • विपश्यना कुनै दार्शनिक तर्क -वितर्क होइन, जसको मद्दतले हामी दिमागी कसरत गरी रहनमा आफुले आफुलाई तल्लिन राख्न सकौँ।
  • विपश्यना कुनै विशिष्ट भेष-भुषा होइन, जुन लगाएर हाम‍ी आफुलाई धर्मवान बनेको गर्व गर्न सकौँ ।
  • विपश्यना कुनै रुढिवाद वा कर्मकाण्ड होइन, जसलाई पुरा गरी हामी धर्मको नाममा आत्म-वञ्चना गर्दै रहौँ ।
  • विपश्यना कुनै ग्रन्थ-पाठ होइन, जसको पाठ गरी हामी वैतरणी पार गर्ने स्वप्नमा लिन हुन सकौँ ।
  • विपश्यना कुनै अनन्य भक्ति होइन, जसवाट कुनै दृष्य-अदृष्य व्यक्ति प्रति शरणागत भई हामी निश्चिन्त हुन सकौँ,अकर्मण्य बन्न सकौँ ।

त्यसो भए विपश्यना के हो त ?
विपश्यना सत्यको उपासना हो ; सत्यमा जिउने अभ्यास हो। यो स्वनिरिक्षणद्धारा चित्तशुद्धि गर्ने प्राचिन साधना पद्धती हो जुन पहिले लोप भईसकेको थियो तर फेरि आज भन्दा लगभग २५०० बर्ष अगाडि गौतम बुद्धले कडा अनुसन्धान पश्यात् सर्वसुलभ गराउनु भएको हो । यस साधनामा आफ्नो स्वाभाविक(नैसर्गिक) श्वासको निरिक्षणबाट आरम्भ गरेर आफ्नो शरिर र चित्तवृत्तिमा प्रतिक्षण हुने परिवर्तनशिल घतनाहरुलाई तटस्थभावले निरिक्षण गर्दै चित्तशोधन र सदगुण बृद्धिको अभ्यास गरिन्छ। विपश्यना विविध विकारबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना हो । दैनिक जीवनको समस्या र तनाव ग्रस्त चित्तलाई अन्तर्मनको गहिराइसम्म पुगेर ग्रन्थिमुक्त गर्ने एक सक्रिय अभ्यास हो। यो शिल समाधिमा स्थित भई सम्यक अन्तर्प्रज्ञा जागृत गर्ने पवित्र अभ्यास हो। विपश्यनाको उद्धेश्य जीवनवाट हारेका ,थाकेका मानिसहरुलाई आश्रमवासि बनाएर वेकम्मा बनाउनु होइन बरु जीवन-अभिमुख भई जीउन सिकाउने कला हो । And, It is the conversion of Suffer-Producing State of Mind to Peaceful and Harmonious state of Mind.

सहयोगी श्रोत सामग्रिहरु :
१.निर्मल धारा धर्म की ,सत्यनारायण गोयन्का
२.विपश्यना साधना, अनुशासन-संहिता
३.प्राकृतिक चिकित्सा विज्ञान ,डा.माया गिरी
४.अन्य अडियो तथा भडियोहरु।

No comments:

Post a Comment